धनकुटाको साँगुरीगढी गाउँपालिका–९ र १० को सिमानास्थित आहाल डाँडामा मंसिर १६ देखि १८ गतेसम्म ‘श्री किरातेश्वर देव माङचुला सांस्कृतिक मेला तथा भलिबल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। सांस्कृतिक परम्परा संरक्षण, स्थानीय पहिचान प्रवर्द्धन र खेलकुद विकासलाई लक्ष्य राखी तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। उद्घाटन दिवसमा गायक विजय वाम्बुले राई, अरूण लिम्बु, गरिमा डान्स सेन्टर तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ भने भलिबल प्रतियोगिताको सुरुवातसँगै हाउजी खेल सञ्चालन हुनेछ। दोस्रो दिन राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुति रहनेछ। समापन दिवस मंसिर १८ गते श्री किरातेश्वर देव माङचुलाको पूजा, साकेला नाच र हाउजी खेलसहित कार्यक्रम सम्पन्न गरिनेछ। तीन दिनसम्म सञ्चालन हुने मेला हरेक दिन दिउँसो १ बजेदेखि सुरु हुने समितिले जानकारी दिएको छ।





