धरान — धरान उपमहानगरपालिकाले श्रमसंस्कृति पार्कमा लागू हुने प्रवेश तथा सुटिङ शुल्क दररेट सार्वजनिक गरेको छ। नगर कार्यपालिकाको कार्यालय, धरानले जारी गरेको सूचना अनुसार पार्क प्रवेश, सामूहिक कार्यक्रम र भिडियो/डकुमेन्ट्री सुटिङका लागि फरक–फरक शुल्क तोकिएको हो।
सूचना अनुसार सर्वसाधारणका लागि श्रमसंस्कृति पार्क प्रवेश शुल्क प्रतिव्यक्ति २० रुपैयाँ कायम गरिएको छ। सामूहिक कार्यक्रमका लागि प्रति समूह २०० रुपैयाँ लिने व्यवस्था गरिएको छ। यस्तै, बाल उद्यान (रक गार्डेन) प्रवेश शुल्क ३५ रुपैयाँ तोकिएको छ।
पार्कभित्र भिडियो वा डकुमेन्ट्री सुटिङ गर्न चाहनेले प्रतिघण्टा २ हजार रुपैयाँ तिर्नुपर्नेछ भने प्रतिदिन सुटिङका लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ।
उपमहानगरपालिकाले पार्कको व्यवस्थापन, संरक्षण तथा सेवा सुधारका लागि शुल्क दर परिमार्जन गरिएको जनाएको छ। तोकिएको दररेट तत्काल लागू हुने नगरपालिकाले स्पष्ट पारेको छ।





