रकम लिएको आरोप असत्य : अनलाइन मिडिया एसोसिएसन

रकम लिएको आरोप असत्य : अनलाइन मिडिया एसोसिएसन

धरान — धरानस्थित अनलाइन मिडिया एसोसिएसन नेपाल ले आफूहरूमाथि सार्वजनिक रूपमा लगाइएको रकम लिएको आरोप असत्य र कपोलकल्पित भएको जनाएको छ।
एसोसिएसनका अध्यक्ष स्वोर्णिमहाङ फोम्बो र सचिव अशोक विश्वकर्मा द्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै राजनीतिक दल, विशेषगरी नेपाल कम्युनिष्ट पार्टी, बाट १ लाख ५० हजार रुपैयाँ लिएको भन्ने आरोप सत्य नभएको स्पष्ट पारिएको छ। उक्त रकम संस्थाले आधिकारिक रूपमा नलिएको, संस्थालाई कुनै प्रचार–प्रसार सामग्री उपलब्ध नगराइएको र संस्थाको नामबाट कुनै प्रचार नगरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पत्रकारिता क्षेत्र पारदर्शिता, निष्पक्षता र जनउत्तरदायित्वका आधारमा अघि बढिरहेको अवस्थामा संस्थाको नाम जोडेर निराधार आरोप लगाइएको एसोसिएसनले जनाएको छ।
विज्ञप्तिमा निर्वाचन आचारसंहिताअनुसार कुनै सञ्चारमाध्यम वा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रचार गर्न नपाइने व्यवस्था रहेको स्मरण गराइएको छ। एसोसिएसनले आफूहरू सधैं प्रेस स्वतन्त्रता र व्यावसायिक मर्यादाप्रति प्रतिबद्ध रहेको जनाएको छ।
संस्थासँग आबद्ध कुनै सदस्यले व्यक्तिगत रूपमा कसैबाट रकम लिएको प्रमाणित भए संगठनात्मक नियमावली तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ। साथै, निराधार आरोप फैलाउने व्यक्ति वा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने एसोसिएसनले जनाएको छ।
एसोसिएसनले सत्यतथ्य र जिम्मेवार सूचना प्रवाहमा सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित