धनकुटा — नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि चयन भएका छन्। जिल्लामा सम्पन्न आन्तरिक प्रक्रियामार्फत साधारण, महिला, युवा र दलित तर्फ गरी प्रतिनिधि छानिएको एमाले धनकुटा संगठनले जनाएको छ।
साधारण तर्फ पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ चयन भएका छन्। महिला तर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र संझना आलेले प्रतिनिधित्व गर्नेछन्। युवातर्फ सरोज राई चयन भएका छन् भने दलित तर्फ नैन विश्वकर्मा सर्वसम्मत रूपमा चयन भएका छन्।
निर्बाचित प्रतिनिधिहरूलाई आइतबार साँझ औपचारिक रूपमा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रम एमाले केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राई, कोशी प्रदेश कमिटी सदस्य खण्डमान राई, प्रमुख निर्वाचन अधिकृत नहकुल राई लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।
शनिबार प्रतिनिधि छनोटको क्रममा विवाद उत्पन्न हुँदा केही तोडफोड समेत भएको थियो। विवादका बीच सम्पन्न अन्तिम प्रक्रियामा विजयी भएका सबै प्रतिनिधि एमाले नेता राजेन्द्र राई पक्षधर रहेको एमाले स्रोतले जनाएको छ। राई अध्यक्ष केपी शर्मा ओलीका निकट नेतामध्ये परेका छन्।
चयनित प्रतिनिधिहरू आगामी महाधिवेशनमा धनकुटाको तर्फबाट सहभागिता जनाउनेछन्।





