धरान — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले मंगलबार आफ्नो प्रारम्भिक घोषणापत्र सार्वजनिक गर्दै राजनीतिक, आर्थिक र शैक्षिक संरचनामा आमूल परिवर्तनको प्रस्ताव अघि सारेको छ। निर्वाचन आयोगमा दर्ता भएको केही दिनमै पार्टीले प्रस्तुत गरेको नीतिगत खाका ‘श्रम, उत्पादन र स्वदेशीकरण’ मा आधारित छ।
घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, समानुपातिक प्रतिनिधित्व, कर संरचना पुनर्स्थापना, अनिवार्य सैनिक तालिम र स्वदेशी उद्योग प्रवद्र्धनजस्ता नीतिहरू प्राथमिकतामा राखिएको छ।
शासन संरचना परिवर्तनको संकेत
घोषणापत्रअनुसार कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट हुनेछन्। दुवै पदमा फरक जाति र लिंगको सहभागिता अनिवार्य गरिने प्रस्ताव गरिएको छ। सांसद मन्त्री बनेको अवस्थामा पद निलम्बन गर्ने व्यवस्था उल्लेख छ। पार्टीले संघीय संरचनाअन्तर्गत संघमा दुई र प्रदेशमा एक सदन रहने व्यवस्था कायम गर्ने बताएको छ। निर्वाचन प्रणाली पूर्णरूपमा समानुपातिक बनाउने र प्रतिनिधिसभामा जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव पनि समावेश छ।
राष्ट्रियता, सीमा र परराष्ट्र नीति
पार्टीले भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिँदै सीमा अतिक्रमण रोक्न नेपाली सेनालाई सीमामा खटाउने जनाएको छ। असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिवद्धता दोहोर्याइएको छ। नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशीले पाँच वर्ष बसेपछि मात्र नागरिकता पाउने व्यवस्था प्रस्ताव गरिएको छ। देशमा क्रियाशील सबै आइएनजिओ खारेज गर्ने नीति समेत घोषणापत्रमा समेटिएको छ।
शिक्षामा उत्पादनमुखी मोडेल
घोषणापत्रले शिक्षा प्रणालीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गरेको छ। हप्तामा तीन दिन कक्षाकोठामा पढाइ र चार दिन उत्पादन तथा साहित्यिक गतिविधिमा संलग्नता रहनेछ। कक्षा १२ सम्म खाना पकाउने, लुगा सिउनेलगायत जीवनोपयोगी सीप सिकाइने उल्लेख छ। कक्षा १२ पास गरेपछि अनिवार्य सैनिक तालिम लिएपछि मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था प्रस्ताव छ। शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुन नदिने नीति पनि समावेश गरिएको छ। युवा समूहको गुनासो सुन्न ‘Gen Z आयोग’ गठन गर्ने उल्लेख छ।
आर्थिक नीति र श्रमको पुनःव्याख्या
पार्टीले आफ्नो आर्थिक नीतिलाई ‘वैज्ञानिक कर प्रणाली’ मा आधारित बताएको छ, जसअनुसार धनीबाट बढी कर लिइने र गरिबलाई छुट दिइनेछ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै ‘एक गाउँ एक उद्योग’ अभियान अघि सारिएको छ। सरकारी चालु खर्च कटौती, श्रमिकलाई निःशुल्क स्वास्थ्य सेवा, गरिब परिवारलाई गास–बास–कपासको न्यूनतम सुरक्षाजस्ता कार्यक्रम पनि प्रस्तावित छन्। ‘एक घर एक स्वरोजगार’ नीति पनि घोषणापत्रको मुख्य व्यावहारिक बुँदा मानिन्छ।
सुशासन र पारदर्शितामा कडाइ
राज्यलाई पूर्ण धर्मनिरपेक्ष बनाउने, करकापमा धर्म परिवर्तन रोक्ने, गल्ती गर्ने सरकारी कर्मचारीलाई सेवा समाप्तिसम्मको कारबाही गर्ने नीति उल्लेख छ। पत्रकार, न्यायालय र सरकारी सेवामा गैरराजनीतिक वातावरण कायम गर्ने र सरकारी बैठकहरू लाइभ गरेर पारदर्शिता सुनिश्चित गरिने बताइएको छ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले अघि सारेका प्रस्तावहरू कार्यकारी सुदृढीकरणदेखि उत्पादनमुखी शिक्षा मोडेल र कर प्रणाली सुधारसम्म केन्द्रित छन्। प्रारम्भिक घोषणापत्र सार्वजनिकसँगै पार्टीले नयाँ राजनीतिक बहसको संकेत दिएको छ।





