काठमाडौँ — धरान–भेडेटार–धनकुटा–हिले खण्डको जीर्ण सडक अवस्थाका कारण पूर्वी पहाडी क्षेत्रका सर्वसाधारणले भोगिरहेको सास्तीबारे भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री कुलमान घिसिङको ध्यानकर्षण गराइएको छ।
पूर्वसभासद हेमराज भण्डारी नेतृत्वको टोलीले शुक्रबार सिंहदरबार पुगेर मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएको हो। खाल्डाखुल्डी बढ्दै गएको, नियमित मर्मतसम्भार नहुँदा दैनिक जसो दुर्घटना दोहोरिने र यातायात अवरुद्ध हुन्छ कि भन्ने त्रास बढ्दै गएको भन्दै टोलीले तत्काल सुधारका लागि पहल गर्न आग्रह गरेको थियो।
ज्ञापनपत्र बुझ्दै मन्त्री घिसिङले कोशी राजमार्ग महत्त्वपूर्ण सम्पर्क मार्ग भएकाले ढिलाइ नगरी सडक विभागलाई आवश्यक कदम चाल्न निर्देशन दिइएको बताए।धरान “–धनकुटा–हिले खण्डका सबै खाल्डाखुल्डी भर्न र क्षतिग्रस्त स्थान मर्मत गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइसकेका छौँ,” मन्त्री घिसिङको भनाइ उद्धृत गर्दै भण्डारीले जानकारी दिए।
यस खण्डका सडक वर्षौंदेखि दयनीय अवस्था रहेकाले धनकुटा, संखुवासभा, भोजपुर र आसपासका जिल्लाका यात्रु तथा सर्बसाधरण मारमा परिरहेका छन्।
स्रोत: हेमराज भण्डारी, पूर्वसभासद (धनकुटा)





