धरान उपमहानगरपालिकाका वडा ४, १५, १४, १३ का झन्डै ९ सय घरधुरी र वडा ८, १९, १५, ५ का ५ सयभन्दा बढी घरधुरी अव्यवस्थित ३३ केभी र ११ केभी प्रसारण लाइनका कारण वर्षौंदेखि प्रभावित रहेको गुनासो पछि समस्या समाधानमा तीव्रता देखिन थालेको छ।
मंसिर १४ गते ‘सुधार नेपाल’ले आयोजना गरेको कार्यक्रममा ऊर्जा, भौतिक तथा पूर्वाधार तथा सिंचाइ मन्त्री कुलमान घिसिङलाई स्थानीय प्रतिनिधिहरूले ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझेपछि मन्त्री घिसिङले धरानमा रहेका विद्युत–सडक सम्बन्धी काम तत्काल गर्ने आश्वासन दिएका थिए।
उही प्रतिवद्धता अनुसार मंसिर २१ गते नेपाल विद्युत प्राधिकरणका प्रादेशिक निर्देशक मुनिन्द्र ठाकुर, धरान शाखा प्रमुख हरिराम पोख्रेलसहितको प्राविधिक टोलीले धरान १५, ८ र १९ का प्रभावित क्षेत्रको स्थलगत सर्वेक्षण गरेको छ। सर्वेक्षणमा वडा १५ का अध्यक्ष नरेश इङ्वाम, वडा ८ का अध्यक्ष धनबहादुर राई, वडा १९ का सदस्य, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जेन्टल लावती, सुधार नेपालका अध्यक्ष निनाचन्द्र राई , मुना राई ,सृर्जना बेघा लगायतको सहभागिता थियो।
स्थानीय प्रतिनिधिहरूका अनुसार अव्यवस्थित हाइटेन्सन संरचना हटाई व्यवस्थित प्रसारण लाइन निर्माण कार्य अब छिट्टै सुरु हुने आश्वासन प्राबिधि- -करणले दिएको छ।
धरान १५, ८ र १९ का जनप्रतिनिधिहरूले “अब विद्युत व्यवस्थापनको काम वास्तविक रूपमा अघि बढ्ने विश्वास दिलाएको” बताएका छन्।





