उज्यालो नेपाल पार्टीले धरानमा उपमहानगर तदर्थ समिति घोषणा
धरान — संगठन विस्तार र प्रदेश–स्तरीय अभियानलाई तीव्रता दिने उद्देश्य सहित उज्यालो नेपाल पार्टीले बुधवार धरान उपमहानगर तदर्थ समिति औपचारिक रूपमा सार्वजनिक गरेको छ। मंसिर २४ गते गोरखा होटल, धरानमा सम्पन्न प्रदेश–१ स्तरीय भेला को निरन्तरतामा गरिएको उक्त कार्यक्रममा केन्द्रीय नेतृत्वदेखि स्थानीय कार्यकर्तासम्मको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा केन्द्रीय सदस्य प्रा. डा. महेन्द्र लावती प्रमुख अतिथि , केन्द्रीय नेता ई. तेजनारायण यादव, ई. महेन्द्र थापा, रिमा विश्वकर्मा, डकेन्द्रसिंह थेगिम, सरु सिघक र डम्बर लावती (जेन्टल) सहितका नेताहरू पनि उपस्थित थिए। नेताहरूले संगठन विस्तारसँगै जनस्तरमा पार्टीको सक्रियता बढ्दै गएको बताउँदै स्थानीय तहमा पार्टीको संरचना मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरे।
भेलाले अमित थेबे संयोजक रहने गरी धरान उपमहानगर तदर्थ समिति गठन गरेको छ। समितिमा मुना राई सह–संयोजक, ललित जिम्बा तामाङ सचिव तथा लैनबहादुर लाओती सल्लाहकार रहेका छन्। समितिमा विभिन्न समुदाय, पेशा र वडाबाट प्रतिनिधित्व हुने गरी ५४ जनालाई सदस्य समावेश गरिएको पार्टीले जनाएको छ।
तदर्थ समितिका सदस्यमा शिव आङदेम्बे, शान्ति तामाङ, अजुद्ध राई, नविन श्रेष्ठ, गोपाल विश्वकर्मा, निशा तामाङ, अच्युत पराजुली, पिया कुरम्वाङ, दिपकला लिम्बू, गुरुप्रसाद दाहाल, इन्द्र वि.क., ध्यानबहादुर तामाङ, दिलबहादुर गोले तामाङ, सुरेश सौदेन, जितबहादुर तामाङलगायतका कार्यकर्ता रहेको छ। समितिमा महिला, युवा तथा विभिन्न जातीय समूहको व्यापक सहभागिता रहेको दाबी पार्टीको छ।
नेताहरूका अनुसार आगामी महिनाहरूमा वडास्तरमा संगठन विस्तार, सदस्यता अभियान, स्थानीय समस्याको सूचीकरण तथा जनसरोकारका विषयमा छलफल कार्यक्रम गर्दै जान समिति सक्रिय हुनेछ। उज्यालो नेपाल पार्टीले धरानलाई ‘जनसहभागितामूलक राजनीतिक मोडेल’ का रूपमा विकसित गर्ने लक्ष्य अघि सारेको छ।





