धरान, सुनसरी — २०८२ मंसिर ३० नेपाल
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाए देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।
सोमबार धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले वैचारिक र संगठनात्मक एकताबिना कम्युनिस्ट आन्दोलन बलियो हुन नसक्ने बताए। अवसरवाद र विभाजनका कारण आन्दोलन कमजोर बनेको उल्लेख गर्दै उनले स्वार्थका कारण एकताबाट टाढा जानु गलत प्रवृत्ति भएको टिप्पणी गरे।
गजुरेलले नेता–कार्यकर्तालाई जनतासँगको सम्बन्ध मजबुत बनाउन आग्रह गर्दै जनभावनासँग नजोडिए आन्दोलनको औचित्य समाप्त हुने बताए। उनले एमालेका पूर्व शीर्ष नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावल एकीकृत नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भइसकेको उल्लेख गर्दै आगामी दिनमा एमालेप्रति असन्तुष्ट हजारौँ नेता–कार्यकर्ता पार्टीमा समाहित हुने विश्वास व्यक्त गरे।
धरान राजनीतिक चेतना, पहिचान र समाजवादी आन्दोलनको ऐतिहासिक आधार भएको सहर भएकाले यहाँ पार्टी संगठन मजबुत बने प्रदेशभर प्रभाव विस्तार हुने उनले बताए।
सभामा पार्टी नेता किरण राईले आत्मसमीक्षा र अनुशासनसहित पार्टी एकता अझ सुदृढ गर्नुपर्नेमा जोड दिए। नेता जीवन राईले विगतका कमजोरी सच्याउँदै पार्टी एकतालाई मजबुत बनाएर धरानको विकास र समृद्धिमा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। अन्य वक्ताहरू अर्जुन लामा, उद्धव लिम्बू, रञ्जित राई र रेवती रमण राईले पार्टी एकता वर्तमान समयको मुख्य आवश्यकता भएको धारणा राखे।
एकता सन्देश सभामा मुक्सामहाङ मेन्याङ्बो (मुकेश), मनोज भट्टराई, उमिता बराइली तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघालगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित सभाअघि छाता चोकबाट मोटरसाइकल र्याली निकालिएको थियो। र्याली पुरानो बजार, माछा भौडी, देशी लाइन र भानु चोक हुँदै पुनः छाता चोकको परिक्रमा गरी सभा हलमा पुगेर सभामा परिणत भएको थियो।
सभाको अध्यक्षता नेपाली कम्युनिस्ट पार्टीका संयोजक उद्धव लिम्बूले गरेका थिए।





