धरान ।
धरानमा सम्पन्न भेलाले अमित थेबेको संयोजकत्वमा उज्यालो नेपाल पार्टीको धरान उपमहानगर समिति गठन गरेको छ। लामो समयदेखि वैकल्पिक राजनीति, सुशासन र जवाफदेही नेतृत्वको आवश्यकता महसुस गरिरहेका स्थानीय नागरिकका बीच यो समिति गठनलाई पार्टीको संगठनात्मक सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
नवगठित समितिमा लैनबहादुर लाओती सल्लाहकार, अमित थेबे संयोजक, मुना राई सह–संयोजक र ललित जिम्बा तामाङ सचिव रहेका छन्। विविध जातीय, सामाजिक र पेशागत पृष्ठभूमिबाट आएका ५४ सदस्यीय कार्यसमितिले धरानको समावेशी राजनीतिक आकांक्षालाई प्रतिनिधित्व गरेको पार्टीको दाबी छ।
पृष्ठभूमि : किन उज्यालो नेपाल ?
देशको राजनीतिमा पुराना दलप्रति बढ्दो निराशा, भ्रष्टाचार, जवाफदेहिताको अभाव र विकासको असमान वितरणले नयाँ राजनीतिक विकल्पको खोजी तीव्र बनाएको छ। यही पृष्ठभूमिमा उज्यालो नेपाल पार्टीले “राजनीति सेवा हो, सौदा होइन” भन्ने नारासहित आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ। धरानजस्तो राजनीतिक रूपमा सचेत शहरमा समिति गठन हुनु पार्टीका लागि रणनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
नयाँ नेतृत्वबाट आशा र भरोसा
नवगठित समितिप्रति आम कार्यकर्ता र समर्थकको अपेक्षा स्पष्ट छ— केवल भाषण र आलोचनामा सीमित नहुने, धरानका वास्तविक समस्या पहिचान गर्ने, जनताको बीचमा पुग्ने र व्यवहारमा परिवर्तन देखाउने राजनीति।
विशेषगरी बेरोजगारी, युवा पलायन, शहरी व्यवस्थापन, पारदर्शी स्थानीय शासन र सामाजिक न्यायका मुद्दामा उज्यालो नेपालले फरक अभ्यास प्रस्तुत गर्नुपर्ने चुनौती छ।
कडा जिम्मेवारी, कडा परीक्षा
यो समिति गठन अन्तिम लक्ष्य होइन, शुरुवात मात्र हो। संगठनलाई चलायमान बनाउने, आन्तरिक एकता कायम राख्ने र जनविश्वास जित्ने काम अबको मुख्य परीक्षा हुनेछ। जनताले नयाँ दललाई सहानुभूति मात्र होइन, परिणाम चाहेका छन्। नव नेतृत्वले “हामी फरक छौं” भन्ने कुरा कामबाट प्रमाणित गर्नुपर्नेछ।
नवगठित धरान उपमहानगर समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धारापानी मिडियाको तर्फबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना।
उज्यालो नेपालबाट धरानले अब उज्यालो राजनीति देखोस्—यही नै जनअपेक्षा र भरोसा हो।





