उदयपुर — श्रम संस्कृति पार्टीको उदयपुर जिल्ला तदर्थ समितिले तल्लो तहका समिति लाई जानकारी नै नदिई नेतृत्व हेरफेर गरेको आरोपसहित चौदण्डीगढी नगर समितिमा तीव्र विवाद उत्पन्न भएको छ। संस्थापक नगर संयोजक जीवन राईलाई जिम्मेवारीबाट हटाएर जिल्ला सदस्यमा मनोनयन गरेपछि असन्तुष्टि सतहमा आएको हो।
जिल्ला तदर्थ समिति संयोजक रबिन्द्र कुमार राईद्वारा हस्ताक्षरित पत्रमा जीवन राईको कार्यसम्पादनको ‘उच्च मूल्याङ्कन’ गर्दै उनलाई जिल्ला सदस्यमा मनोनयन गरिएको उल्लेख छ। साथै, रिक्त नगर संयोजकको जिम्मेवारी जिल्ला सदस्य तथा नगर इन्चार्ज मणिकुमार राईलाई तोकिएको जनाइएको छ। तर, जीवन राईले आफू र नगर समितिलाई कुनै पूर्व जानकारी नदिई गरिएको निर्णय स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
जीवन राईका अनुसार केन्द्रमै भुईमान्छे
श्रमदाताहरूको योगदानको अपमान गरिएको छ,” उनले भने। निर्णय प्रभाव वा दबाबमा परेर गरिएको आशंका व्यक्त गर्दै उनले यस्तो प्रवृत्ति नरोकिने हो भने त्यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिएका छन्।
उनले जिल्ला तदर्थ समिति संयोजक रबिन तिलुङको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाउँदै विधानअनुसार परामर्श, छलफल र जानकारीको प्रक्रिया मिचेर निर्णय गरिएको दाबी गरेका छन्। यस्तो कार्यले पार्टीभित्र अविश्वास पैदा हुने उनको भनाइ छ।
यसतर्फ पार्टी नेतृत्व भने जिम्मेवारी हेरफेरलाई नियमित र सम्मानजनक प्रक्रिया भएको दाबी गर्दै आएको छ। नेतृत्वका अनुसार कार्यसम्पादनको कदरस्वरूप गरिएको मनोनयनले व्यक्तिको योगदानलाई अवमूल्यन नगर्ने उद्देश्य राखेको छ।
तर संस्थापक नगर संयोजक जीवन राईले यसलाई योजनाबद्ध कदम र श्रमदातामाथिको अपमानका रूपमा व्याख्या गरेपछि उदयपुर जिल्लामा पार्टीभित्र आन्तरिक खटपट सुरु भएको संकेत देखिएको छ। “विधान आफैंमा खराब हुँदैन, तर नेतृत्वले नै विधान मिच्न थालेपछि त्यो औपचारिक कागजमा सीमित हुन्छ,” राईको टिप्पणी छ।
नयाँ राजनीतिक दलका रूपमा उदाउँदै गरेको श्रम संस्कृति पार्टीका लागि यो विवाद संगठनात्मक अनुशासन, आन्तरिक लोकतन्त्र, श्रमदाताप्रतिको सम्मान र नेतृत्वको विश्वसनीयतासँग जोडिएको गम्भीर चुनौतीका रूपमा हेरिएको छ।





