धरान–४ का वडा अध्यक्षले आफू श्रमसंस्कृति पार्टीमा प्रवेश गरिसकेको भन्ने चर्चा आधिकारिक नभएको स्पष्ट पारेका छन्। पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका समाचार प्रति प्रतिक्रिया दिँदै उनले यस्तो दाबी गलत भएको बताएका हुन्।
वडा अध्यक्षले मेयर हर्क साम्पाङ्गले आफुलाई बोलाएर अविर लगाइदिएको कुरा भने स्वीकार गरेका छन्। तर त्यो सम्मान र सद्भावको संकेत मात्र भएको उनको भनाइ छ। उनले स्पष्ट शब्दमा भनेका छन्— आफू अहिले पनि श्रमदान, श्रम अभियान र मेयर हर्क साम्पाङ्गले अघि सारेका काम र पक्षमा रहेको।
उनका अनुसार, श्रमसंस्कृति पार्टीसँग वैचारिक र अभियानगत नजिकता भए पनि औपचारिक रूपमा पार्टी प्रवेश गरेको अवस्था छैन। “यदि भविष्यमा श्रमसंस्कृति पार्टीमा आउनुपर्ने परिस्थिति आयो भने, म लुकेर होइन— पत्रकार सम्मेलन गरेर, आफ्नो निर्णय सार्वजनिक गरेर प्रवेश गर्नेछु,” उनले भने।
यस अभिव्यक्तिले धरानको स्थानीय राजनीतिमा देखिएको भ्रमलाई चिर्दै, अहिलेको अवस्थामा वडा अध्यक्ष स्वतन्त्र भूमिकामै रहेर मेयर साम्पाङ्गको श्रम अभियानलाई समर्थन गरिरहेको सन्देश दिएको छ।
धरानमा श्रमसंस्कृति अभियान र मेयर हर्क साम्पाङ्गको नेतृत्वलाई लिएर बढ्दो राजनीतिक चासोका बीच वडा अध्यक्षको यो स्पष्टताले आगामी दिनमा हुने राजनीतिक निर्णयहरू अझै खुला र पारदर्शी हुने संकेत दिएको छ।





